Website Designer and Developer in Nepal


sexy film poster

काठमाडौं — अश्लीलता फैलाएको भन्दै महानगरपालिकाले ट्राफिक प्रहरीसँगको सहकार्यमा फिल्मका पोस्टर च्यात्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका जमल, लैनचौर, त्रिपुरेश्वर, सोह्रखुट्टे, चाबहिल, महाराजगन्ज र बानेश्वर लगायतका ठाउँमा टाँसिएका पोस्टरहरु च्यात्ने काम गरिरहेको छ।

'समाजमा नकारात्मक सन्देश जाने र अश्लीलता फैलाउने फिल्मका पोस्टरहरु च्यात्ने काम भइरहेको छ । सार्वजनिक स्थानमा यस्ता पोस्टर टाँस्न नपाइने हुँदा सम्बन्धितलाई कारबाही गर्न लागेका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी केशव अधिकारीले भने । फिल्मको पोस्टरबाहेक प्रचारप्रसारका लागि लगाइने होर्डिङ बोर्डहरु समेत निकाल्ने काम भइरहेको उनले जानकारी गराए । 'पोस्टर र होर्डिङबोर्डले शहरको सुन्दरता बिगार्ने हुनाले निकाल्ने निर्णय गरेका हौं,' उनले भने ।

पोस्टर डिजाइनर स्वप्निल आचार्य पनि वर्तमान समयमा अश्लील पोस्टर बनाउने क्रम बढेको स्विकार्छन् । तर यस्ता पोस्टरले दर्शकलाई आकर्षित गर्नुको सट्टा नकारात्मक प्रभाव पारिरहेको उनको अनुभव छ । 'निर्माताहरुमा अश्लील प्रचारले दर्शक आउँछन् भन्ने भ्रम छ । तर यसले दर्शकमा झन् नकारात्मक सन्देश गएको अनुभव गरेको छु,' उनले भने । सामाजिक मान्यता परिवर्तन भइरहेको सन्दर्भमा उत्ताउला पोस्टर नपच्ने उनले बताए ।

टुसालस्थित ह्यात रिजेन्सी होटलको पर्खालमा हप्तैपिछे अधिकांश नेपाली फिल्मको पोस्टर टाँसिन्छ । यस ठाउँमा विभिन्न स्कुलका विद्यार्थीहरु स्कुल बसको प्रतीक्षामा बस्ने गर्छन् । 'यस्ता पोस्टरले राम्रा फिल्म बनाउनेहरुलाई समेत निरुत्साहित गरेको जस्तो लाग्छ । पोस्टर हेर्दा लाज लाग्ने फिल्म किन हलमा रिलिज हुन्छ ?' नयाँबस्तीकी मैयादेवी तामाङले प्रश्न गरिन् ।

१२ को परीक्षा सिध्याएर बसेकी पाटनढोकाकी अस्मिता शाक्य आपूm पोस्टरले गर्दा नै नेपाली फिल्म हेर्न नगएको अनुभव सुनाउँछिन् । 'नेपाली फिल्मको पोस्टरमा गुणस्तर नै छैन । पोस्टरले दर्शकलाई हलसम्म तान्छ भन्ने कुरा फिल्मवालाले बुझेका छैनन्,' उनले भनिन् ।

फिल्म 'चपली हाइट' रिलिज हुने बेला नेपाल प्रहरी र महानगरपालिकाले अश्लीलताको कारण देखाउँदै पोस्टर निकाल्ने अभियान चलाएका थिए । तर त्यसपछि सुस्ताएको महानगरपालिका र प्रहरी कार्यालय फेरि एकपटक पोस्टर च्यात्ने तयारीमा छन् ।

'होर्डिङ बोर्डलाई उतार्ने प्राथमिकतामा राखेर काम गरिरहेकाले पोस्टर च्यात्ने काममा सुस्तता आएको हो । होर्डिङ बोर्ड हटाउने कार्य सकिएपछि फिल्मको पोस्टर च्यात्ने काम सुरु गर्छौं,' महानगरपालिका प्रवक्ता शान्तराम कोइरालाले भने । कोइरालाले महानगरपालिकाले चाँडै नै महानगरपालिकाभित्र पोस्टर टाँस्ने काम पूर्ण रुपमा निषेध गर्ने पनि जानकारी गराए ।

महानगरपालिकाको यो नियम लागु भएमा फिल्मको पोस्टर टाँस्ने रोजगार गरिरहेका करिब डेढ सयको रोजगारी खोसिने सम्भावना रहेको जानकारहरु बताउँछन् । काठमाडौंमा हप्तैपिच्छे फेरिने फिल्मको पोस्टर टाँस्न सयदेखि दुई सयसम्म कामदार संलग्न रहँदै आएका छन् । पोस्टर टाँस्नेले दिनको हिसाबमा पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् । १५ वर्षदेखि पोस्टर टाँस्ने काम गरिरहेका राजु भण्डारी महानगरपालिकाको नीतिले आफूलाई बिचल्लीमा पार्ने दुखेसो गर्छन् ।

'झन्डै १५ वर्षदेखि गरिरहेको काम एक्कासी छाड्नु पर्दा नरमाइलो लागेको छ । सरकारले गरिखाने भाँडै खोसिदियो,' उनले भने । उनको समूहका २५ कामदार बेरोजगार बस्नुपरेको पनि उनले बताए ।

महानगरपालिकाको नियम अनुसार सार्वजनिक स्थलमा पोस्टर र होर्डिङ बोर्ड टाँसेको पाइएमा २० हजार जरिवानादेखि कैद सजायसम्म हुने प्रावधान छ । तर अटेरी गर्दै अहिले पनि पोस्टर टाँस्ने काम रोकिएको छैन । महानगरपालिका प्रवक्ता कोइरालाले पोस्टर टाँस्ने काम रातीमात्र हुने हुनाले पक्राउ गर्न नसकिएको बताए । 'तर हामी चाँडै नै यो समस्या सम्बोधन गर्छौं,' उनले भने ।
Next
This is the most recent post.
Previous
Older Post

0 comments:

Post a Comment

 
Top